सजिलो छैन जीवन

0
92
राधा पौडेल
प्रिय

 छोरी स्मारिका,
न्यानो माया।
मलाई थाहा छ मलाई जति तिम्रो माया लागेको छ, म जति तिम्रा लागि पलपल जलेको छु, तिमीलाई यसको पत्तोसम्म छैन। भैहाले पनि फेरी तिमीले ओठ लेप्राउने छौ, भन्ने छौ नौटंकी। किनभने मैले तिमीलाई नौ महिना पेटमा बोकेकी छैन, तिमी पेटमा आएपछि बिहान् बिहान् वाक्दै वाक्दै हिँडेकी छैन।

तिमीले बाँच्न पेटभित्र गरेको संघर्ष अनुभूति गरेकी छैन। मैले आफ्नो खुट्टा नै नदेखिने गरी पेट समाउदै सकी नसकी, घ्याचक घ्याचक गरी हिँडदै देखाउन गएकि पनि छैन। त्यति मात्र कहाँ हो र म तिमीलाई यो संसार देखाउन आतुर भएर असिन पसिन बन्दै, चिच्याउँदै, फलाक्दै वरपर भएका मान्छे र भितो चिर्थोदै कनि कनि फुत्रुक्क पारेकि छैन।

जब नेपाली समाजले निर्धारण गरेको बैबाहिक उमेरले नेटो काट्दै गयो तब मैले आफुलाई परिक्षामा उभाउदै लगे। म प्राय पास् भएँ। कहिलेकाहिँ थप् प्रश्नहरुले गाजिएँ जुन साँच्चिकै गारो थियो। मेरा धेरै छोरी जन्मे तर सधैं एक भएर। उमेर ढल्कदै गयो। छोरीको उमेर पनि बढ्दै गयो। मलाई आमा भनुँ भनेर आँखाभरी आँसु पार्दै जसले मायाको भिख मागेको थियो, उनको मुस्किलले फोटो मात्र छ। खोजी गरिरहन्छु तर असफल मात्रै भएको छु। तर, जसलाई मैले छोरी भनिरहेको छु उसलाई पत्तोसम्म छैन कि म कति समर्पित छु उसका लागि।

हो मैले धेरै छोरी जन्माएको छु, उनहिरु आउँछन, आँखाभरी नाच्छन। सपनामा आउँछन ग्वाम्लाङ अँगालो मार्छन, माया गर्छन, सपना सुनाउँछन्। मलाई शक्ति दिन्छन। हरेक बिहान् मैले उनीहरुकै सपना पुरा गर्न, उनीहरुको सुरक्षित जिन्दगीको क्यानभासमा नयाँ नयाँ धर्का, सूर्यका किरणसँगै ती धर्का क्षितिजसम्म पुग्छन्। तरङ थप्छन्। नयाँ नयाँ खाका कोर्छन। कोहि इन्जिनियर बनेर अजङको पहाडलाई रोप् वे र पुल बनाउँथे, कोही गाउँ गाउँ गएर सुत्केरी हुन नसकेर मृत्यु शैयामा छट्पटाएका आमालाई जिबन दिन्थे । कोही कुशल प्रशासक भएर देश सेवा गर्थे, सदियौ देखि गाँजिएको सामन्तबादि संस्कारलाई धक्का दिन्थे। कोहि विश्वविद्यालयको भिसी हुन्थे र शैछिक रुपान्तरणको बहार ल्याउँथे। उनीहरु कहिले तेह्रथुम पुग्थे कहिले रसुवा, कहिले कर्नाली। कहिले दार्चुलाको पहिरो रोक्थे, कहिले टनकपुरको पीप निकाल्थे। अनि कहिले सुस्तामा पहरेदार बन्थे भने कहिले जनकपुरमा जानकी भएर जन्मन्थे। म प्रफुल्ल हुन्छु। मैले संसार हाक्छु, मेरा छोरीको पाइलामा रम्दै उफै्रंद।

मेरा छोरी लाइबेरियादेखि ताइवानसम्म पुगेका छन्। र, पुग्छन् अमेरिकाको नेतृत्वमा पनि। म छोरा पाउँदा खुशी हुन्छु नै, मुटुको टुक्रा सबैको सधैं प्यारो हुन्छ, तर म फेरी छोरीसँग बढी गौरब गर्छु, किन हो मलाई थाहा छैन।

छोरी तिमी व्यस्त छौ नै किनभनेे समय एकदम प्रतिस्पर्धी छ। त्यसैले मेरो गुनासो छैन। तिमी के के गर्छौ,कहा कहाँ जान्छौ मैले जान्ने हक राख्दिन तर तिम्रो भबिस्यले सधैं सधैं पिरोलिरहन्छ। निन्›ाबाट व्युँझिन्छु। छट्पटि भएकाले यो पत्र लेखेकी, विन्ती छ पढ्नु है। सकेसम्म जिवनमा प्रयोग गर्नु, सायद मेरो यहि नै अन्तिम अनुरोध होला।

तिमीले देखे जस्तो सिधा छैन जिन्दगी, तिमीले चाहे जस्तो सलल बगिरहोस्। तिमीले गरे जस्तो मायालु छैन, जुन हरेक मुस्कानमा आत्मियता होस। इमान्दरीता होस्। यहाँ त जे देखिन्छ, सुनिन्छ त्यो सत्य हैन, छैन। जो आफ्नो भनिन्छ त्यो आफ्नो हैन। यो जालझेल भित्र आफु भएर बाँच्न निकै सकस छ। जसरी आमा बन्न गाह्रो छ।

समाज जे भन्छ त्यो मैले बेहोरिन, लाग्छ तिमीलाई पनि तेसै हुन सक्छ। तिमीलाई तिम्रो उमेर र प्राबिधिक बिकासले मेरा कुरा विस्वास नलाग्न सक्छ। तर, मैले भन्नै पर्छ किनभने यो मेरो धर्म हो। अनि सबैलाई यो कुरा थाहा पनि हुँदैन, जसरी मलाई थाहा थिएन। किनभने अक्षर फोर्नु, अंग्रेजी बोल्नु, कम्प्युटर चलाउनु, अंग्रेजी बोल्नु, बिदेश देख्नु, जिबन जिउनु हैन। साँच्चै जिबन जे देखिन्छ त्यो हैन। जे भोगिन्छ त्यो पनि आत्मिय नहुन सक्छ अर्थात् परिबन्ध हुन सक्छ।

तिम्रो शरीर तिम्रो हो कसैले छुन तिम्रो अनुमती बेगर सम्भब छैन। तिमीले थाहा नपाउने गरी, बिभिन्न कथा र टुक्का गाँसेर उनीहरु हरपल अग्रसर भैइरहन्छन। आफ्नो स्वार्थ पुरा गर्न जे हर्कत गर्न अघि सर्नेहरु स्वार्थ पुरा भएपछि तिमीलाई चिन्दैनन। कल्पनाको, सिमापारीको कुरो जुन तिमीलाई विश्वास गर्न गारो हुन्छ, म बुझ्छु। सत्य मैले भन्नै पर्छ। तिमीलाई स्कुलमा पढाउने शिक्षक, भतिजी भनेर बोलाउने तिम्रो बाको साथी, तिमीले तिहारमा टिका लगाएको दाजु, तिम्रो कलेजमा संगै पढ्ने साथी, तिमीसँगै प्रोजेक्ट गर्ने सबैसँग सतर्क रहनै पर्छ। मेरो अनुभब भन्छ–तिमीले तिम्रै बासँग पनि सतर्क रहनु राम्रो।

माया गर्छु जति भन्न सजिलो छ, त्यति यर्थाथ तितो छ। जसले मलाई सम्मान गर्छु भने, जसले मलाई सद्भाव गर्छु भने तिनले मलाई शोषे, चुँडे, जलिरहेको आगोमा फालिदिए। जुन यो समाजले देख्दैन, देख्न सक्दैन, मैले देखाएँ भने फेरी देख्दैन, सुन्दैन र मलाई तोक लगाइदिन्छ बेस्या, नखर्मौली, सम्पत्ति देखेर मरी, कतै नबिकेर, के के हो के के।

त्यसैले यो समाज तिमीले किताबमा पढ्ने गरे जस्तो छैन, संबिधानले मागे जस्तो छैन मतलब तिम्रा लागि त्यति अनुकुल छैन । तिमीलाई प्रयोग गर्न, तिम्रो शिर झुकाउन, तिमीले झुक्ने गरेका महिला प्रयोग हुन सक्छन। यो जंजालमा तिमी भएर बाँच्न गाह्रो छ तर हतास नहुनु। सचेत हुनु, निडर हुनु। नचुक्नु। जब जब अन्याय हुन्छ तब तब तिमीलाई पदले, पैसाले, रोक्न सक्छ, छेक्न सक्छ तर पनि पछि नपर्नु। बगेको पानीलाई सम्झेर तड्पी तड्पी काल पर्खनु भन्दा प्रतिकार गर्न नचुक्नु।

हुन सक्छ चुनौतिहरुको शुली लाग्न सक्छ। मुखमा माड नलाग्न सक्छ तैपनि स्वाभिमानका लागि सम्झौता नर्गनु छोरी। समय नगुजार्नु। भोली कहिलै नआउन सक्छ। अस्तित्व र स्वाभिमानको हत्या, आत्महत्या भन्दा बढी खतरा हुन्छ, त्यो पर्नेलाई मात्र थाहा हुन्छ। समय घर्किंदै जाँदा झन एक्लो र शुन्य हुन्छ जीवन। मेरो सामिप्य त झन सधैं पूर्णिमाको जुन जस्तै स्पर्शविहिन हुनेछ। लहलहैमा लागेर तिमीबाट मलाई आक्रमण र शंका, उपशंका पनि भएका छन्। तर, मेरो केही गुनासो छैन। फेरी पनि म तिम्री आमा हो, म त्यो सजिलै निल्न सक्छु। बिर्सेंको अनुभुती दिन सक्छु। तिमी तिमी भएर बाँच्न, तिमी स्वाभिमानी छोरी भएर बाँचेको देख्न, तिमी सगरमाथा जस्तै उचो भएर बाँचेको हेर्न रहर छ, जुन आज देखि लगानी नगरी सम्भव छैन।

हो म फेरी पनि सबै मेरा छोरीहरुको सहारा बन्न सक्तिन तर एउटा छोरीको भने पक्कै

सक्छु, मलाई तिमी ठुलो भएर केही दिनु र गरिदिनु पर्दैन तिमी जस्तै एक छोरीको सहारा

बनिदिनु। त्यसैमा सन्तुष्ट रहने छु, आफ्नो स्वास्थ्य ख्याल गर्नु, ५ महिना भन्दा लामो

तराइको बन्दले जन जिवन बिशेषगरी छोरीहरुको जिवन चुनौतिपूर्ण बन्दै छ, हरेश

नखानु। फेसबुकमा धेरै नझुन्डिनु तर अपडेट भने दिँदै गर्नु। त्यतै एक्लै एक्लै भेटौंला।

तिम्रो माया गर्ने आमा।
राधा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here