नागरिक होइन, नगर अभिनन्दन : मोदी स्वागतबारे सरकारको स्पष्टोक्ति यस्तो

0
51

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा गरिने भनिएको अभिनन्दन नागरिक अभिनन्दन नभएर नगर अभिनन्दन रहेको सरकारले स्पष्ट पारेको छ । नागरिक अभिनन्दनका नाममा सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएपछि सरकारले नागरिक नभएर नगर अभिनन्दन गर्न लागिएको स्पष्ट पारेको हो । संसद्को बुधबार बसेको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस विषयमा स्पष्ट पारेका हुन् ।

संसद्को शून्य समयमा बोल्दै सांसदहरूले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका थिए । सांसदहरूले भारतका प्रधानमन्त्री मोदीको भ्रमणको जानकारी मागे लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले दुईदिने भ्रमण हुन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउन लागेको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताए । मोदी दुईदिने भ्रमणका क्रममा २८ वैशाख (भोली) मा नेपाल आउँदै छन् ।

जनकपुर र काठमाडौंमा भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्न लागिएको भन्ने विषयमा असहमति जनाउँदै उनले सरकारको सक्रियतामा नागरिक अभिनन्दन गर्ने भन्ने विषय गलत भएको स्पष्ट पारे । ‘जनकपुरमा जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यस्तै, काठमाडौं महानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।’

भारतीय प्रधानमन्त्रीलाई सरकारले दुई ठाउँमा अभिनन्दन गर्न लागेको भन्ने आरोप लागिरहेको समयमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बन्धित नगरले अभिनन्दन गर्न लागेको संसद्लाई जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here