मोदीले भने: नेपाल नयाँ युगमा प्रवेश गर्‍यो, भारत असल साझेदार

0
188

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । नेपालको भ्रमणमा आउनुअघि भारतको कर्नाटक राज्यबाट सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले नेपाली जनतालाई फकाउने प्रयास गरेका हुन् ।

कर्नाटक राज्यको विधान सभा चुनाव प्रचारका क्रममा रहेका मोदीले प्रधानमन्त्रीका रुपमा आफू तेस्रो पटक नेपाल जान लागेको जनाउँदै यसले नेपालप्रति भारतको उच्च प्राथमिकता दर्शाएको पनि बताएका छन् ।

‘म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमण्त्रणामा ११-१२ मई २१०८ मा नेपाल जाँदैछु’, उनले भनेका छन्, ‘यो प्रधानमन्त्रीकारुपमा नेपालको तेस्रो यात्रा हुनेछ । यसले नेपालप्रति भारतको उच्च प्राथमिकतालाई दर्शाउँछ । व्यक्तिगत रूपमा म नेपालका साथ आफ्नो पुरानो, निकट र मैत्रीपूर्ण सम्बन्धले जोडिएको छु ।’

मोदीले २ वर्षयता नेपालले तीब्र आर्थिक वृद्धि गर्न सफल भएको पनि जिकिर गरेका छन् । ‘नेपालले लोकतन्त्रबाट बढी भन्दा बढी लाभ लिँदै तीब्र गतिमा आर्थिक वृद्धि र विकासलाई हाँसिल गर्दै एक नयाँ युगमा प्रवेश गरेको छ। भारत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दृष्टिकोणलाई व्यवहारमा उतार्न नेपाल सरकारको एक मजबुद साझेदार बनिरहनेछ ।’

मोदीले आफू नेपाल जानुअघि नेपालका प्रधानमन्त्रीबाट भएको भारत भ्रमणको पनि स्मरण गरेका छन् । ‘मेरो यात्रा अघिल्लो महिना भारतमा प्रधानमन्त्री ओलीको राजकीय भ्रमणका क्रममा भएको निम्तोलाई पालना गर्नु पनि हुनेछ । यो उच्चस्तरीय र नियमित वार्ता ‘सबका साथ, सबका विकास’ को आदर्श वाक्य अनुरूप ‘छिमेकी पहिलो’ नीतिप्रति मेरो सरकारको प्रतिबद्धतालाई पनि दर्शाउँछ ।’

मोदीले नेपाल आउनुअघि दुई देशबीच पछिल्ला केही वर्षमा द्विपक्षीय कनेक्टिभिटी र विकास परियोजना पनि स्मरण गरेका छन् । ‘केही वर्षयता दुई देश मिलेर विकास परियोजना सम्पन्न गरेका छौँ’, उनले भनेका छन्, ‘हाम्रा दुई नागरिकका लागि परिवर्तनकारी पहलको सुरुवात पनि गरेका छौँ ।’

प्रधानमन्त्री ओली र आफूबीच हालै मात्र दिललीमा व्यापक चर्चा भएको पनि मोदीले जिकिर गरेका छन् । ‘हामी दुईले दिल्लीमा पारस्परिक हितका मुद्दामा नयाँ दिल्लीमा व्यापक चर्चा गर्यौँ, यो पटक पनि हामीलाई त्यो अवसर मिल्नेछ । र, विभिन्न क्षेत्रमा हाम्रो सहकारी साझेदारीलाई पनि अघि बढाउने यो एउटा अवसर हुनेछ ।’

मोदीले आफू काठमाडौँका अलावा जनकपुर र मुक्तिनाथ जानका लागि प्रतिक्षामा रहेको पनि बताएका छन् । ‘जनकपुर र मुक्तिनाथले हरेक वर्ष ठुलो संख्यामा तीर्थयात्रीलाई आकर्षित गरेका छन‍् । यी दुई धामले भारत र नेपालका जनताबीच प्राचीन र मजबुद सांस्कृतिक र धार्मिक सम्बन्धको उदाहरण पनि प्रस्तुत गरेका छन ।’

मोदीले काठमाडौँमा नेपाली नेताहरुसँग पनि भेटवार्ता गर्ने जानकारी दिएका छन् । ‘म नेपालमा राजनीतिक नेता र साथीहरुसँग भेट्ने विश्वासमा छु । मेरो यात्रा पारस्परिक लाभ, सद्भावना र समझको आधारमा नेपालसँग हाम्रा जनता केन्द्रित साझेदारीलाई अझै अघि बढाउने विश्वास लिएको छु ।’

I will be visiting Nepal on 11-12 May 2018 at the invitation of the Prime Minister of Nepal Rt. Hon’ble KP Sharma Oli….

Posted by Narendra Modi on Thursday, May 10, 2018

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here